logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • गण्डकी प्रदेश सरकार फेर्न कांग्रेस–माओवादी केन्द्रबीच सहमति

    गण्डकी प्रदेश सरकार फेर्न कांग्रेस–माओवादी केन्द्रबीच सहमति

    2.6K
    Shares

    काठमाडाैं । गण्डकी प्रदेश सरकार फेर्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सहमति भएकाे छ । गण्डकी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसलाई दिन माओवादी केन्द्र सहमत भएपछि सरकार फेर्ने वातावरण परिपक्व बनेको हो । कांग्रेसबाट कृष्णचन्द्र नेपाली पोख्रेल मुख्यमन्त्री बन्ने सम्भावना छ ।

    राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वासको प्रस्तावमा समर्थन गर्ने घोषणा गरेपछि नयाँ सरकार गठनका लागि बहुमत सुनिश्चित भएको छ । लुम्बिनी प्रदेशमा माओवादी नेतृत्वमा सरकार बनाउन सघाउन कांग्रेस तयार भएपछि नयाँ समीकरण बनेको हो ।

    गण्डकी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार हटाएर कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको संयुक्त सरकार बनाउन गणीतीय रुपमा सम्भव भएको छ । 

    ६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ जना प्रदेशसभा सदस्य चाहिन्छ । मुख्यमन्त्री गुरुङको दल नेकपा एमालेसँग २७ सांसद छ । दोस्रो ठूलो दल कांग्रेसका १५ प्रदेशसभा सदस्य छन् भने माओवादी केन्द्रका १२ । माओवादीबाट निर्वाचित नेत्रनाथ अधिकारी सभामुख छन्, उनले सरकार गठनमा मत दिने छैनन् ।

    राष्ट्रिय जनमोर्चाका तीन र जनता समाजवादीका दुई प्रदेशसभा सदस्य छन् । माओवादी केन्द्रका दुई मन्त्रीले राजीनाना दिएसँगै मुख्यमन्त्री गुरुङले बहुमत सुरक्षित गर्न राष्ट्रिय जनमोर्चालाई सरकारमा सहभागी गराउने प्रयत्न गरेका थिए । तर जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा उभिने निर्णय गरेपछि गुरुङ नेतृत्वको सरकार ढल्ने र कांग्रेसको नेतृत्व नयाँ सरकार बन्ने निश्चित जस्तै भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend