काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच लामो समयपछि वार्ता भएको छ । काठमाडौंको नक्सालस्थित होटेल मेरियटमा भएको करिब २ घण्टा लामो वार्तामा के के विषयमा छलफल भयो भन्ने सार्वजनिक भएको छैन ।
वार्ताबाट बाहिरिएका दुवै नेताले कुनै प्रतिक्रिया भने दिएनन् । नेता नेपालले ‘साथीहरुसँग’ छलफल गरेपछि प्रतिक्रिया दिने बताएका छन् ।
वार्तापछि दुवै नेता प्रफुल्लित मुद्रमा बाहिर निस्किएका छन् । वार्ता सकारात्मक भएकाे छलफलमा सहभागी अन्यकाे भनाइ छ ।
विधानविपरीत ओलीले पार्टी कब्जा गरेको आरोप नेपाल पक्षले लगाइरहेकाे बेलामा भएकाे याे वार्ता महत्वका साथ हेरिएकाे छ । बुधबार दिउँसो नेपाल पक्षका नेता योगेश भट्टराईले ओलीसँग भेट गरी वार्ताबाट अघि बढ्न सुझाव दिएका थिए ।