काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठक आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बिहान ११ बजेका लागि बैठक बोलाइएको एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार आजको बैठक बैशाख ६ गतेकै निरन्तरता हो । बैठकमा माधव(झलनाथ समूहका ३२ सांसदलाई सोधिएको स्पष्टीकरणलाई विश्लेषण गर्ने र निर्णय लिने जनाइएको छ। झलनाथ खनाल, भीम रावलसहित केही नेताहरुले बिहीबार स्पष्टीकरण बुझाएका छन् ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने पाँच र संघीय संसदका २७ जना सदस्यलाई वैशाख ६ गते स्पष्टीकरण सोधेका थिए।
बैठकमा पार्टीको दशौं महाधिवेशनको तयारीका लागि पनि छलफल हुने प्रमुख सचेतक विशाल भट्टराईले बताए । यसअघि वैशाख ६ गते बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले आगामी मंसिरमा गर्ने भनिएको पार्टी महाधिवेशनको कार्ययोजना एमालेले तयार पारिसकेको छ।