काठमाडौं । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजदेखि शुरू हुँदैछ। दिउँसो २ बजे शुरू हुने अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने भएको छ।
कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको कार्यसूचीअनुसार आज प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बोलेपछि अविश्वासको प्रस्ताव टेबुल हुनेछ । त्यसपछि अन्य सांसदले बोल्नेछन्। छलफल सकिए पछि बढीमा ३ दिनमा अविश्वासको प्रस्ताव टुंगो लाग्ने छ। अविश्वासको प्रस्तावमा २८ जनाको हस्ताक्षर छ। राष्ट्रिय जनमोर्चाले प्रस्तावमा हस्ताक्षर गरेको छैन, तर मतदानमा सघाउने प्रतिवद्धता जनाएको छ।
२७ सदस्य रहेको एमालेको साथ जनमोर्चाले छोडेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अल्पमतमा रहेका छन् । ६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन ३१ मत आवश्यक पर्छ ।
गण्डकीमा एमालेको २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२ सांसद छन्। राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र एक सांसद छन्।