logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • ‘आमा याङ्ग्री’को त्यो रोमाञ्चक पदयात्रा

    ‘आमा याङ्ग्री’को त्यो रोमाञ्चक पदयात्रा

    8.5K
    Shares

    प्रकृति र आध्यात्मको दोभान । रंगविरंग गुँरास फुलेका पाखाका दृश्य । शान्त, शीतल अनि रंगीन । सिन्धुपाल्चोकको हेलम्बुमा रहेको आमा याङ्ग्री (३७७१ मिटर) ।
     
    जहाँबाट वरीपरी हिमाल देखिन्छन् । एउटा दुइटामात्र होइन दर्जनौँ । डाँडामा उभिँदा हिमालको चुचुरोमा ठोक्किएर फर्किएका हावाले तन र मनमा एक किसिमको ऊर्जा पैदा गर्छ । डाँडामा उक्लिँदाको कठीन अनुभुतिहरु त्यसै बिलाएर जान्छन् । प्राकृतिक मात्र होइन आध्यात्मिक हिसाबमा पनि यो डाँडाको महत्व छ । याङ्ग्रीको काखमा बसोबास गर्ने बौद्ध धर्मावलम्बीहरुका कुलदेवी हुन् ‘आमा याङ्ग्री’ ।

    …..

    काठमाडौंबाट नजिक पदयात्राका लागि उपयुक्त ठाउँ कहाँ छ ? साथी कमल साउदको प्रश्नमा मेरो उत्तर थियो हेलम्बु । पदयात्राका लागि उपयुक्त स्थान मानिन्छ हेलम्बु । मेरो जन्म भएको जिल्ला तर पनि जाने अवसर मिलेको थिएन । जाने हो त हेलम्बु घुम्न ? मेरो प्रतिप्रश्नमा उसले सहमति जनायो । हामीले अन्य २ जना साथी अमी पण्डित र प्रदिप घिमिरेलाई पनि फोन गरिहाल्यौँ । उत्सुकतापूर्वक उनीहरु पनि जाने भए ।

    शनिबार र आइतबार २ दिनको समय लिएर हामी हेलम्बु जाने भयौँ । हामीले हेलम्बुको यात्राका बारेमा सिन्धुपाल्चोकको चनौटे भन्ने स्थानमा रहेको हाम्रो साथी आशिष पण्डितलाई सम्झियौँ । हाम्रो योजना सुनेपछि उ पनि हामीसँग हेलम्बु यात्रामा जाने भयो ।

    शनिबार बिहान खाना खाएर २ जोडी फुक्कापाल मन हुइँकिन थाल्यो हेलम्बुतिर । भत्किएका पिच, जंगलको बाटो, हेलम्बु पुग्ने उत्साह तीव्र थियो । काठमाडौंको जहरसिंह पौवाको डाँडाबाट देखिएको दृश्यले हामीलाई लोभ्यायो । सुन्दर बारीका पाटाहरु, नागबेली कच्ची सडक, खुलेको मौसम हामीले एकछिन यो सुन्दर दृश्य क्यामेरामा कैद गर्‍याैँ ।

    Views 1.JPG

    पौवाबाट करिब एक घण्टाको ओरालो यात्रापछि हामी हेलम्बु राजमार्ग भेट्न पुग्यौँ । इन्द्रावती खोलाको किनारै किनार हामी केही बेरमा मेलम्ची बजार पुग्यौँ । बाटोमा देखिएका र अनौठा लागेका दृश्यहरु एक अर्कालाई सोध्दै हामी अघि बढीरह्यौँ ।

    काठमाडौंबाट हिँडेको करिब साढे २ घण्टापछि हामी चनौटे बजार पुग्यौँ र साथीलाई भेट्यौँ । हाम्रो आतिथ्यताको लागि उसले आफ्नो घरमा लगेर पानी र दही खुवायो । उसैले तार्केघ्याङसम्म आज नै पुग्न सकिने जानकारी दिएपछि हामी तार्केघ्याङका लागि निस्कियौँ ।

    मेलम्ची खोलाको किनारै किनार । दिउँसो प्रचण्ड गर्मी थियो । हाम्रा साथीहरुले मेलम्ची खोलामा नुहाउने रहर व्यक्त गरे । साथी आशिषले पनि हामीलाई गज्जबको पौडी खेल्ने स्थान छ भनी झन् हौस्यायो । त्यसपछि त के चाहियो । योजना बनिहाल्यो पौडी खेल्ने । मेलम्ची खोलाको कञ्चन अनि चिसो पानीमा डुबुल्की मार्न थालिहाल्यौँ ।

    Ashok 1.jpg
     
    केहीबेर पानीमा डुबुल्की मारेपछि हामी पुनः गन्तव्यतर्फ लम्कियौँ । हिँड्दै गर्दा एक जना साथीले ट्राउट माछा खाने विचार ब्यक्त गर्‍याे । तीन बजिसकेको थियो भोक लागिसकेको थियो । त्यही पनि खाने कुरा न हो नाइँ कसले भन्थ्यो । तिम्बु नजिक थियो त्यो रेष्टुरेण्ट त्यहीँ छिरिहाल्यौँ ।

    आफैँले बल्छि बोकेर गएर माछा पनि मार्‍याैँ । पोखरीमा पालेका माछा बल्छिमा पार्न पनि साथीहरुलाई हम्मेहम्मे परेको थियो । माछासित गोलभेँडाको चटनी । मिठो यो स्वादको वर्णन गर्दै पुनः हामी यात्रातिर लम्कियौँ ।

    उकालो अनि कच्ची बाटो तिम्बुबाट माथि लागेपछिका जंगलमा चराहरुको चीरबीर आवाज, सुनसान बाटो । फाट्ट–फुट्ट ट्रकहरु भेटिन्थे । कालिजले बाटो काटिदिन्थ्यो । हामी एकछिन मोटरसाइकल रोकेर यस्ता दृश्यहरु हर्थ्यौँ । यस्तै अनुपम सुन्दरतासहहितको हाम्रो यात्रा अघि बढिरह्यो । उकालो अनि कच्ची बाटोमा मोटरसाइकल थचारिँदा भने कहिले पुगिएला तार्केघ्याङ भन्ने जस्तो अनुभुति पनि भइरहेको थियो ।

    पश्चिमतर्फ ढल्किरहेको सूर्य अब डाँडापारी लुक्न खोजिरहेको थियो । सूर्यको पहेँलो प्रकाश अलि मधुरो हुन लाग्दा हामी तार्केघ्याङ पुग्यौँ । त्यहाँ पुगेपछि बास बस्नका लागि हाम्रो रोजाइमा पर्‍यो ‘होटल तार्केघ्याङ ।’

    Takke  1.jpg

    याङ्ग्रीको डाँडा र पारीपट्टि देखिएको मेलम्ची घ्याङले पनि हामीलाई आकर्षित गरिरहेको थियो । चिसो सिरेटो पनि चलिरहेको थियो । एकछिन तार्केघ्याङको दृश्य नियालेपछि हामीले होटलमा गएर थकाइ मार्यौँ । हामी बसेको होटलमा खाना भने नबन्ने रहेछ । बाहिर खाना बनाउनका लागि हामी बसेको होटलको दिदीले भनिदिनुभएको रहेछ । दिदीले भनेपछि हामीले थाहा पायौँ ।
     
    अचम्म लागेको एउटा कुरा, यो ठाउँमा काटमार नचल्ने रहेछ । अर्थात् यहाँ मासु खान नपाइने रहेछ । होटलका सञ्चालकले भनेपछि हामीले थाहा पायौँ । ‘आमा याङ्ग्री’को काखमा बसेर काटमार किन गर्ने ? उहाँको भनाइ सुनेर हामी नतमस्तक भयौँ । स्थानीयका अनुसार यहाँ काटमार गर्दा मेघगर्जन, हावाहुरी चल्ने चट्याङलगायतको भय हुने गर्दछ । शेर्पा लवजमा होटल सञ्चालकको यी कुराहरु सुनेपछि हामीले टुङ्नाको धुन सुन्ने रहर व्यक्त गर्‍याैँ । तर त्यो सम्भव भएन ।

    …..

    बिहान सबेरै उठेर बाहिर निस्कदा वरिपरी देखिएका हिमाल, अलिअलि मधुरो प्रकाशले तार्केघ्याङ झन् सुन्दर देखिएको थियो । चिसो पानीमा हातमुख धोएर हामी आमा याङ्ग्री डाँडामा चढ्न तयार भयौँ ।

    केही माथिसम्म हामीले मोटरसाइकलमा नै जाने निधो गर्यौँ । स्थानीयसँग सोधेर करिब एक डेढ घण्टाको उकालोसम्म मोटरसाइकल जान्छ भनेपछि हामी मोटरसाइकल स्टार्ट गरेर उकालो लाग्यौँ ।

    Himal 2.jpg

    बाटो फरक परेछ, पर्यो फसाद । बाटो नै सकियो । केहीबेर फर्किएर हामी पुनः सही बाटोबाट करिब डेढ घण्टाको बाटोमा पुग्यौँ । एउटा सानो चउर र केही तल पानी खाने धारो र एउटा सानो भवन रहेछ त्यहाँ । उकालो चढ्दा पानी पाउने अन्तिम स्थान भनी लेखिएको थियो । हामीले आफूले बोकेका पानीका बोतल भरेर याङ्ग्रीको चुचुरो नियाल्यौँ । हाम्रा पाइलाहरु उचालिए त्यो डाँडाबाट देखिने हिमाल नियाल्न ।

    उदाउँदो सूर्यले नजिक देखिएका थाडेपाटी र सोलीका पहाडहरुमा छरेको लाली रंगले झन् सौन्दर्य बढाएको थियो त्यस ठाउँको । आकाश खुल्ला थियो । चिसो हावा पनि सिरसिर बहिरहेको थियो । कतै राता अनि कतै सेता फूलेका गुराँसका बोटहरुमा पनि हाम्रा नजर गइरहन्थे । उकालो बाटो कतै–कतै सिँढी भेटिन्थे । उकालो उक्लिन गाह्रो हुन्थ्यो । तर पनि गोब्रे सल्ला र गुँरासहरुबीच लम्किएको बाटोमा हामीले निरन्तर पाइला चालिरह्यौँ ।

    बाटोमा हिउँले खाएका रुखहरु सुकेका थिए । जति माथि उक्लियो त्यति साना बुटाहरुमात्र देखिन्थे । करिब तीन घण्टाको उकालो यात्रापछि हामी आमा याङ्ग्रीको डाँडामा पुग्यौँ । जहाँबाट आँखै नझिम्काई दोर्जे लाक्पा, गणेश हिमाल, लाङटाङ हिमाल रेन्ज, गौरीशंकर रेन्ज, भैरब टाकुरा, ग्याल्जेन पिक, याङग्री हिमाल, किमसुङ, भेमडाङ हिमाल, उर्कुमा हिमाल, यान्सा छेन्जि हिमाललगायतका दर्जनभन्दा बढी हिमालहरु देखिएका थिए ।

    हामीले बोकेको खाजा पानी खाएर हामीले प्रत्ये हिमालका दृश्य नियाल्यौँ । २ दिन अघि मौसम खुलेको थिएन रे । बिहान हिँड्ने बेलामा हामी बसेको स्थानका स्थानीयले हामीलाई ‘भाग्यमानी’ को ट्याग लगाइदिएका थिए ।

    Himal 3.jpg

    मौसम खुलेको थियो । सिरसिर हावा पनि चलिरहेको थियो । डाँडामा ‘आमा याङ्ग्रीको घर’ बनिरहेको थियो । हामीले देखेका गुम्बाहरु गोलाकार हुन्थे । तर आमा याङ्ग्रीको गुम्बा सामान्यतया मन्दिरको आकारमा बनिरहेको थियो । किन यसरी बनिरहेको छ ? भन्ने हाम्रो जिज्ञासामा स्थानीय तेन्जिङ दावाले हाम्रा लामा गुरुहरुले आमा याङ्ग्रीको मन्दिर यो आकृतिमा बनाउन सुझाव दिएको र गुरुहरुको आदेश अनुसार यो शैलीमा पुनर्निर्माण भइरहेको बताए ।

    केही समयको बसाइपछि हामी पुनः ओरालो लाग्न थाल्यौँ । करिब तीन घण्टा उक्लिएर गएको बाटो ओर्लिनका लागि हामीलाई एक घण्टाभन्दा अलि बढीमात्र लाग्यो । चौँरी चर्ने पाखामा विश्राम गरी हामी फर्किएर पुनः याङ्ग्रीको काख तार्केघ्याङमा आएर खाना खायौँ ।

    खाना खाइसक्दा १२ बजिसकेको थियो । हामीलाई तार्केघ्याङबाट पारिपट्टी देखिएको शर्माथानले लोभ्याइरहेको थियो । काठमाडौं फर्किन उत्तिकै हतार पनि थियो । शेर्माथानको लागि पुनः अर्कोपटक योजना बनाउने निर्णयसहित हामी काठमाडौंका लागि निस्कियौँ ।

    Aama Y.JPG


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend