काठमाडाैं । यही जेठ १७ गते हुने राष्ट्रिय सभा सदस्य उपचुनावका लागि लुम्बिनी प्रदेशमा दुई जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय सभा सदस्यका लागि दीर्घनारायण पाण्डे र चन्द्रबहादुर खड्काको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दीर्घनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्काकाे उम्मेदवारी परेको हो । चार दलीय गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका पाण्डे यसअघि लुम्बिनी प्रदेश सभा सदस्य थिए । एमालेका तर्फबाट प्रदेश सभा सदस्य निर्वाचित पाण्डेले केही दिनअघि सांसद पदबाट राजीनामा दिएर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
यसैगरी एमालेका तर्फबाट उम्मेदवारी दिएका खड्का यसअघि पनि राष्ट्रिय सभा सदस्य थिए । माओवादीबाट निर्वाचित अर्घाखाँचीका खड्कामाथि एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गरेको थियो ।