एजेन्सी । ११ दिनको लडाइँ अन्त्य गर्दै इजरेल तथा गाजास्थित प्यालेस्टीनी विद्रोहीबीच युद्धबिराम गर्ने सहमति भएको छ । झन्डै अढाइ सय मानिसको ज्यान जाने गरी भएको द्वन्द अन्त्य गर्दै स्थानीय समयानुसार शुक्रबार राति २ बजेबाट युद्धविराम शुरु भएको बीबीसीमा उल्लेख छ ।
प्यालेस्टिनी विद्रोही तथा इजरेलको सुरक्षा क्याबिनेटले इजिप्टको मध्यस्थतामा गरिएको युद्धविरामप्रति स्वीकृति जनाएका छन्। युद्धविरामपछि गाजामा विजयोत्सव मनाउन गोली चलाइएका आवाज आएका छन्। तर इजरेलतर्फ रकेट प्रहार रोकिएको छ।
युद्धविरामपछि इजरेलभित्रै दशकौँपश्चात् देखिएका यहुदी तथा अरब इजरेली समुदायबीचको तनाव मत्थर हुने इजरेलको आशा छ। अमेरिकी राष्ट्रपति जो बाइडनले युद्धविरामको स्वागत गरेका छन्। यसले मध्येपूर्वमा प्रगतिका निम्ति अवसर दिएको उनले बताएका छन्।