काठमाडाैं । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा विपक्षी दलका नेताहरु छलफलमा जुटेका छन् । पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजादी पार्टी अध्यक्ष उपेन्द्र यादवबिच छलफल सुरु भएको निकट स्राेतले बताएकाे छ ।
उक्त छलफलमा अबको कदमबारे निर्णय हुने बताइएको छ । राष्ट्रपति भण्डारीले संविधानको उल्लंघन गरी धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनका लागि आह्वान गरेको भन्दै विपक्षी नेताहरु आक्रोशित बनेका छन् ।
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अन्तर्गतको नयाँ सरकार गठनका लागि आह्वान गरिसकेकी छन् । उनले दलहरुका लागि शुक्रबार साँझ ५ बजेसम्मका लागि समय दिएकी छन् ।
प्रधानमन्त्रीले राजीनामा नै नगरी वा विश्वासको मत लिने प्रकृया नै छलेर नयाँ प्रधानमन्त्रीका लागि ओलीले सिफारिस गर्नु र त्यसलाई ‘रबर स्ट्याम्प’ शैलीमा राष्ट्रपतिले अगाडि बढाएपछि विपक्षी दलका नेताहरु आक्राेशित बनेका हुन् ।