काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोग पदाधिकारीसँगको छलफलमा ओलीले आगामी कात्तिक २६ र मंसिर ३ गते हुने गरि घोषणा गरिएको प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका सिफारिसमा शुक्रबार मध्यरातमा दुई चरणमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति घोषणा गरिसकेकी छन् । राष्ट्रपति भण्डारीले निर्वाचनको मिति तोकेपछि प्रधानमन्त्रीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत अन्य आयुक्तसंँग शनिबार छलफल गरेका हुन् ।