काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीकै भूमिका र प्रवृतिका कारण ‘तिमी’ भन्नुपर्ने अवस्था आएकाे बताएका छन् । नेता थापाले ‘सम्माननीय राष्ट्रपति’बाट तपाईँ हुँदै तिमीमा कसले ओरालेको ? भनेर प्रश्न समेत गरेका छन् ।
राष्ट्रपतिलाई ‘तिमी’ भनेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीको चित्त दुखेको उल्लेख गरी थापाले भनेका छन्, ‘गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड !’
थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ, बिचरा ! गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड ! ‘सम्माननीय राष्ट्रपति’बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको? आफ्नै कर्म र प्रवृतिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो ।’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार निकालेकाे विज्ञप्तिमा राष्ट्रपतिलाई तिमी सम्बाेधन गरिएकाे थियाे । यही विषयमा दिउँकाे एक कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई तिमी सम्बाेधन गरेकाेमा कांग्रेसले सम्मान गरेर बाेल्न बिर्सिसकेकाे भनी टिप्पणी गरेका थिए ।