काठमाडाैं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद प्रकाश रसाईली स्नेहीले अब शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाएर सुशासन कायम गराउने र भ्रष्टाचारको अन्त्य गर्ने बताएका छन् ।
सर्वोच्च अदालतको रिट निबेदन दर्ता गर्न पुगेका सांसद स्नेहीले सर्वाेच्च अदालतले अब प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्नेमा आफू ढुक्क रहेको बताए । उनले भने ‘अब देउवाको नेतृत्वमा पुराना नेताको अनुभव र लगानी अनि नयाँ नेतृत्वको क्रियाशीलता र क्षमताको फ्युजनबाट सरकार निर्माण गर्छाैँ । भ्रष्टाचरकाे अन्त्य गर्छाैँ र सुशासन कायम गर्छाैँ ।’
सुनौलो नेपालसँग कुरा गर्दै उनले देश कोरोनाले आक्रान्त भएकाे बेलामा सरकारले संक्रमितकाे लास मात्र गनेकाे र चुनाव चुनाव भनी देश अस्थिरतातर्फ धकेलेकाे टिप्पणी पनि गरे ।
सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न समर्थन जनाएका १४९ सांसदमध्ये १४६ जना सोमबार संसद विघटनविरुद्ध रिट दायर गर्न सर्वोच्च अदालत पुगेका थिए ।