काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टी एकतालाई जोगाउन इमान्दार रुपमा अन्तिम क्षणसम्म पनि प्रयत्न गर्ने बताएका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा उनले पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर मात्रै एकता जोगिने भन्दै यसका लागि अन्तिम क्षणसम्म प्रयत्न गर्ने बताएका हुन् ।
उनले लेखेका छन्, ‘नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ।’
त्यस्तै सवल एंव एकीकृत पार्टीले मात्र महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्ने दावी गरेका छन् । ‘राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ।’ उनले भनेका छन्।
पछिल्लो समयमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र सर्वोच्चमा रिट दायर गर्ने सन्दर्भमा माधव नेपाल पक्षमा विष्टले हस्ताक्षर गरेका छैनन् । तर बुधवार नेपाल पक्षबाट जारी संयुक्त वक्तव्यमा भने उनको पनि नाम छ।