काठमाडौं । आगामी भदौ ७ देखि १० गतेका लागि तय भएको नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बनेको छ । विश्वव्यापी कोरोना संक्रमणका कारण निर्धारित महाधिवेशन अनिश्चित बनेपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई विकल्प अघि सारेका छन् । यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।
उनले बिहीबार नेपाल प्रेस युनियन स्थापना दिवसका अवसरमा आयोजित ‘भर्चुअल’ कार्यक्रममार्फत विकल्प देखाएका हुन् । पार्टी केन्द्रीय कार्यालयमा अनलाइन प्रणालीमा आएका क्रियाशील सदस्यबाट छानबिन गरेर(विवाद भएका बाहेक)मात्रै महाधिवेश गर्न सकिने वा १३औं महाधिवेशनमा छानिएका पुराना प्रतिनिधिबाटै भए पनि एक वर्षका लागि केन्द्रीय सदस्य निर्वाचित गर्न सकिने प्रस्ताव गरेका हुन् ।
पौडेलको धारणापछि सभापति शेरबहादुर देउवाले आफूलाई महाधिवेशन टार्ने रहर नभएको भन्दै सबै विकल्पमा बसेर खुला छलफल गर्न तयार रहेको बताए ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी सूचना तथा प्रचार विभागले महाधिवेशनमा प्रविधि प्रयोगबारे तयारी गरिरहेको जानकारी दिए । उनले भने, ‘सकेसम्म भौतिक रूपमै महाधिवेशन गर्नुपर्छ, नभए प्रविधि प्रयोबाट पनि गर्न सकिन्छ, हामी प्रयास गर्दै छौं ।’
कांग्रेसले हालसम्म नवीकरण र क्रियाशील गरी करिब ८ लाख सदस्यता वितरण गरेको छ ।