काठमाडाैं । निर्वाचन आयोगले जसपाका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर दुईजनाको पत्र खारेज गरेको छ । दुवैले एक अर्कालाई पार्टीबाट निष्कासन गरेको पत्र सोमबार निर्वाचन आयोगमा दर्ता गराएका थिए ।
दुवै अध्यक्षले पठाएको कारवाहीसम्बन्धी पत्रको नियमावलीको अनुसूचीकाे ढाँचाअनुसार नमिलेको आयाेगले बताएकाे छ ।
आयाेगले यादव पक्षलाई राजनीतिक दल सम्बन्धी नियमावली २०७४ अनुसूची १८ बमोजिमको हेरफेर गर्न नियम २५ बमोजिमको प्रक्रिया पूरा गरेर आउन र ठाकुरलाई त्यसका साथै केन्द्रीय सदस्यको हस्ताक्षरसमेत समावेश गरी आउन पत्र पठाएकाे आयाेगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
पार्टीमा मतभेद बढ्दै जाँदा जसपामा एकले अर्कोलाई निष्कासन गर्ने होडबाजी नै चलेको थियाे । यादवले सोमबार ठाकुरसहित नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ सुक्लालाई पार्टीको साधरण सदस्यसमेत नरहने गरी निष्कासन गरेर आयोगलाई जानकारी गराएका थिए ।
लगत्तै ठाकुरले पनि यादवलाई निष्कासन गरेर आयोगमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम दलको विवरण अध्यावधिक गर्न पत्र पठाएका थिए ।