काठमाडाैं । कोरोनाकालमा लगातार भइरहेको अनलाइन कक्षा र धेरै गृहकार्यबाट दिक्क भएकी एक बालिकाको भिडियो भाइरल भएपछि जम्मू–कश्मीरको शिक्षा विभागले नयाँ निर्देशन जारी गरेको छ ।
नयाँ नियमानुसार विद्यालयले बालबालिकाको अनलाइन पढाइको समय नै तय गरिएको छ । साथै कक्षा एकदेखि पाँचसम्मका विद्यार्थीका लागि अति आवश्यक पर्दा मात्रै गृहकार्य दिन भनिएको छ ।
केही दिनअघि कश्मीरकी ६ वर्षीया एक बालिकाको भाइरल भिडियो भएको थियो जसमा उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै लगातार चलिरहेको अनलाइन पढाइबाट बालबालिकामा दबाब परिरहेको बताएकी थिइन् ।
माहिरू नाम गरेकी ती बालिकाले भनेकी थिइन्, ‘मेरो कक्षा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मभ हुन्छ । साना बालबालिकालाई यति धेरै गृहकार्य किन दिइन्छ मोदीजी ?’
Modi saab ko is baat par zaroor gaur farmana chahiye😂 pic.twitter.com/uFjvFGUisI
— Namrata Wakhloo (@NamrataWakhloo) May 29, 2021
‘निकै मिठो गुनासो । मैले स्कुले बालबालिकाको गृहकार्यको बोझ घटाउनका लागि ४८ घण्टाभित्र नीति ल्याउन शिक्षा विभागलाई निर्देशन दिएको छु ।’ दुई दिनअघि जम्मू–कश्मीरका उप–राज्यपाल मनोज सिन्हाले पनि यस भिडियोलाई रिट्वीट गरी लेखेका थिए ।
यस नियमअनुसार प्रि–प्राइमरी कक्षाका विद्यार्थीका अभिभावकसँग कुरा गर्न र उनीहरुलाई मार्गदर्शन गर्न ३० मिनेटभन्दा बढी समय लिन पाउने छैनन् । कक्षा एकदेखि कक्षा आठसम्म दिनमा दुई सेसनभन्दा धेरै कक्षा नलिन भनिएको छ र एक सेशन ३० देखि ४५ मिनेटको हुनुपर्ने निर्देशनमा उल्लेख छ ।
त्यस्तै नौदेखि १२ कक्षासम्मका विद्यार्थीको अनलाइन पढाइ चार सेसनभन्दा बढी लिन पाइने छैन । उनीहरुका लागि पनि एक सेसनको अवधि ३० देखि ४५ मिनेट तोकिएको छ ।