काठमाडौं । सरकारले थप ७० होटललाई क्वारेन्टाइनका लागि सूचीकृत गरेको छ । यसअघि आठ वटा होटललाई अनुमति दिइएकोमा बुधबार पर्यटन विभागले ७ वटा पाँचतारेसहित थप ७० होटललाई क्वारेन्टाइन होटलका रुपमा सूचीकृत गरेको हो । योसँगै क्वारेन्टाइन होटलको संख्या ७८ पुगेको छ । यो समाचार आजको कारोबार दैनिकले छापेको छ ।
हवाई मार्गबाट स्वदेश आउने तथा कारोना संक्रमितलाई क्वारेन्टाइनमा राख्न विभागले न्यूनतमा मापदण्डसहित होटलको नाम सार्वजनिक गरेको हो ।
यस्तो छ मापदण्ड
– मापदण्ड अनुसार कम्तीमा २० कोठा भएको हुनुपर्ने, स्वास्थ्यसम्बन्धी तोकिएको मापदण्ड पालना गर्ने गरी होटल परिसरको छुट्टै गेट वा कम्पाउण्ड भएको र सकेसम्म घुमफिर गर्न सक्ने खुला ठाउँ र बगैचा भएको हुनुपर्ने,
– होटल क्वारेन्टाइनमा रहेका हवाई यात्रुहरुलाई सेवा प्रदान गर्न (खाना, पानी, अन्य लजिष्टिक सपोर्ट) र स्वाव परीक्षणको नमूना संकलनको लागि पर्याप्त खुला ठाउँ भएको हुनुपर्ने र होटलको कोठामा टीभी, वाइफाई अनिवार्य भएको हुनुपर्ने,
– होटलको कोठामा अट्याच ट्वाइलेट र नुहाउन तथा पिउन तातो पानीको व्यवस्था भएको हुनुपर्ने, होटलमा खाना र अन्य सेवाहरु कोठामा वा प्यासेजमा मात्र प्रदान गर्ने व्यवस्था भएको हुनुपर्ने,
– होटलको प्रत्येक प्रस्थान कक्षमा साबुनपानीले हात धुने व्यवस्थाका साथै सेनिटाइजरको व्यवस्था भएको हुनुपर्ने,
– मापदण्डमा होटलले प्रदान गर्ने सेवाहरु सामूहिक रुपमा खाना खाने स्थल, बुफे, जिम, साउना, इन्डोर तथा आउटडोर गेम पूर्ण रुपमा बन्द गरेको हुनुपर्नेछ ।
– प्रत्येक कोठामा एक हप्ता पुग्ने गरी साबुन, टुथपेष्ट, ब्रस, हेण्डवास र टावेल राखिएको हुनुपर्ने, नेपाली तथा विदेशी नागरिकहरू विदेशबाट नेपाल आउँदा पालन गर्नुपर्ने मापदण्ड २०७८ मा तोकिएको क्षेत्रमा रहेको होटल हुनुपर्ने ।
तारे होटल स्वयंले शुल्क निर्धारण गर्न सक्ने छन् भने पर्यटक होटलका लागि ३ हजार शुल्क प्रति दिनका तोकिएको छ । सरकारले होटल क्वारेन्टाइनका लागि हरेक दिन प्रतिव्यक्ति ३ हजार खर्च तोकेको छ ।