काठमाडाैं । शेयर बजारमा पछिल्ला दिनमा लगातार नयाँ–नयाँ रेकर्ड कायम हुन थालेका छन् ।
कोरोना कहरका कारण मुलुकभर नै निषेधाज्ञा जारी छ । आम मानिस घरभित्रै छन् । व्यापार व्यवसाय प्रायः ठप्प जस्तै छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा भने नयाँ खालका कीर्तिमान कायम भइरहेका छन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च स्थानमा पुगेको छ । कारोबार रकम पनि झण्डै १७ अर्ब रुपैयाँको हाराहारीमा पुगेको छ ।
कोराना कहर र निषेधाज्ञाले बजारलाई प्रभावित पार्न नसक्नुको पछाडि प्रविधिको प्रयोगलाई लिइएको छ । विद्युतीय रूपमा नै घरमै बसेर सहज रूपमा शेयर कारोबार हुन पाएका कारण विषम अवस्थामा समेत उल्लेखनीय इतिहास कायम भएको लगानीकर्ताको विश्लेषण रहेको छ ।
नेप्सेमा बिहीवार २९.५५ अंकले वृद्धि भई २ हजार ८५६.६७ मा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.९६ अंकले बढेर ५१३.११ मा पुगेको छ ।
कूल २१८ कम्पनीको ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता शेयर १६ अर्ब ९० करोड ७० लाख २० हजार २८६ मूल्यमा खरिद बिक्री भए । साताको कारोबार हुने अन्तिम दिन बिहीवारको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ६४ अर्ब २१ करोड २१ लाख ५१ हजार ९९९ बराबर पुगेको छ । बजार पूँजीकरण पनि हालसम्मै उच्च भएको नेप्सेले जनाएको छ ।
कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको १ अर्ब २ करोड ७० लाख २७ हजार २८७ बराबरको कारोबार भयो । छिमेक लघुवित्त विकास बैंक ६८ करोड १६ लाख ५० हजार १५९, लुम्बिनी विकास बैंक ३५ करोड ५ लाख ९२ हजार ६०२, नेपाल बंगलादेश बैंक ३३ करोड २२ लाख ७० हजार ७३६ र नेपाल पूर्वाधार बैंकको ३३ करोड १३ लाख ८६ हजार ७७४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
मञ्जुश्री फाइनान्स र महिला लघुवित्तको शेयरमा १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लागेको छ । गुर्खाज फाइनान्स ९.६८, ग्रीन डेभलपमेन्ट बैंक ९.५५, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७.९५ प्रतिशतले कमाए । पञ्चकन्या माई हाइड्रोपावर ५.९२, राधी विद्युत् कम्पनी ५.०६, बरुण हाइड्रोपावर ४.८८, घलेम्दी हाइड्रो ४.४१, नारायणी डेभलपमेन्ट बंैकका लगानीकर्ताले ४.३५ प्रतिशतले गुमाए ।