काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पटक-पटक भेट गरिरहेका छन् । प्रधानमन्त्रीलाई भेट्न ठाकुर र महतो बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।
ठाकुर र महतो हरेक दुईरतीन दिनमा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्छन्। ठाकुर–महतो खेमाले सरकारमा सहभागी हुने तयारी गरेको छ ।
बिहीबारको भेट मन्त्रालय बाँडफाँट टुंगो लगाउन केन्द्रित भएको ठाकुर पक्षले जनाएको छ। ठाकुर पक्षले ८ वटा मन्त्रालय मागेको छ।
नेता सुरेन्द्र झाले मन्त्रालयको विषयभन्दा पनि जसपाले उठाएका मुद्दा सम्बोधन गर्न, कोरोना महामारी नियन्त्रण गर्ने, संविधान संशोधन कार्यदलको कार्यविधि बनाउने विषयमा छलफल गर्न बालुवाटार गएको बताए। ठाकुरसँगै महतो, शरतसिंह भण्डारी र अनिल झा पनि बालुवाटार पुगेका थिए ।
ठाकुर पक्षमा रहेका कार्यकारिणी समितिका ६ सदस्य कित्ता परिवर्तन गरी उपेन्द्र यादव समूहमा गएका छन्। ६ सदस्यले ठाकुरको साथ छाडेपछि कार्यकारिणीमा उपेन्द्र समूह स्पष्ट बहुमतमा देखिएको छ।
कार्यकारिणी समितिका सदस्यहरू मृगेन्द्रसिंह यादव, नवलकिशोर साह, रामनरेश राय यादव, महेन्द्र यादव, गजाधर यादव र रमेश यादव उपेन्द्र समूहमा गएका छन् । उनीहरूले पार्टी जोगाउन आफूहरूले अध्यक्ष उपेन्द्रलाई साथ दिएको बताएका छन् ।