काठमाडाैं । एमाले नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टले उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिको विरोध गरेका छन् ।
महतोले बुधबार पदभार ग्रहणका क्रममा बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्ति उनले शनिबार पनि दाेहोर्याएका छन् । उनकाे याे अभिव्यक्तिकाे सर्वत्र विराेध भइरहेकाे छ ।
विष्टले सामाजिक सञ्जालमार्फत राज्यको जिम्मेवार पदमा बसेको व्यक्तिबाट भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण रहेको बताएका हुन् ।
उनले भनेका छन् ‘उपप्रधानमन्त्री राजेन्द्र महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल छ’, विष्टले भनेक छन्, ‘जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ ।’