काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कारण एकता नभएको भनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाएको आरोपको प्रतिवाद गरेका छन् ।
उनले साेमबार ट्वीटरमार्फत प्रधानमन्त्री ओलीकाे उक्त अभिव्यक्तिकाे खण्डन गरेका हुन् । उनले प्रधानमन्त्री ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्नु झुट, भ्रामक र षड्यन्त्रपूर्ण रहेको बताएका छन् ।
उनले लेखेका छन् ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।’
यसअघि आइतबार ओलीले एक प्रस्तावमा सर्वोच्च अदालतले अलग हुने फैसला गरेपछि पनि आफूले माओवादी केन्द्रसँग एकताको प्रस्ताव गरेको तर प्रचण्डको अनिच्छाका कारण सफल हुन नसकेको उल्लेख गरेका थिए । यसअघिका केही अभिव्यक्तिमा पनि ओलीले प्रचण्डमाथि उक्त आराेप लगाउने गरेका थिए ।