धनगढी । नेकपा(माओवादी केन्द्र)नेतृत्वको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा आज विश्वासको मत लिँदैछन् ।
मंगलबार बिहान ९ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले बताएका छन् । धामीका अनुसार विश्वासको प्रस्तावको पक्ष, विपक्ष र तटस्थ बस्ने प्रदेशसभा सदस्यका लागि समेत छुट्टाछुट्दै मत खसाल्ने व्यवस्था गरिएको छ ।
बाउन्न प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ । अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना छन् ।
यद्यपी, एमालेका प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाशबहादुर शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशनसहित पत्र पठाएका छन् ।
एमालेका २४ मतदातामध्ये कारवाहीमा परेका १५ र संस्थापन पक्षमा नौ सदस्य छन् । पूर्वनेता माधवकुमार नेपाल पक्षका सदस्यले फ्लोर क्रस गरी मुख्यमन्त्री भट्टका पक्षमा मतदान गरे विश्वास प्राप्त गर्नेछन् ।