काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न सरकारसँग माग गरेका छन् । शुक्रबारको प्रदेशसभा बैठकमा वैद्यले दिएको अभिव्यक्ति संसदीय मर्यादाविपरीतको भएको भन्दै कारवाही गर्न उनले माग गरेका हुन् ।
उक्त बैठकमा वैद्यले ओली प्रवृत्तिको अन्त्य गर्न भारतमा महात्मा गान्धीको हत्या गरेका नाथुराम गोड्से चाहिएको अभिव्यक्ति दिएको थिए। उक्त अभिव्यक्तिको आलोचना पछि वैद्यले शनिवार प्रदेशसभामा आफूले बोलेको कुरा संसदीय मर्यादा भित्र नपर्ने भन्दै आत्मआलोचना गरिसकेका छन् ।
शनिवार एक कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले भने नेपाली कांग्रेसकै मिलीभगतमा महात्मा गान्धिलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षड्यन्त्र कतै कुनै कुनामा बनिरहेको त छैन भन्दै प्रश्न गरेका हुन् । भने, ‘वैद्यले संसदमा दिएको अभिव्यक्तिलाई आक्रोश मात्रै हो भन्न सकिन्न । सत्ताका लागि छटपटाएका तत्वले चुनावसम्म ओली रहेँ सत्ता प्राप्तिको चाहना पूरा हुँदैन भन्ने देखेर देशकै प्रधानमन्त्रीको हत्या गर्न बुनेको षड्यन्त्रको गन्ध पोखिएको हुनसक्छ, यसतर्फ सचेत हुनुपर्छ ।’
एमालेभित्र आन्तरिक कलहको फाइदा उठाएर केही तत्व सत्ताप्राप्तिका लागि प्रधानमन्त्रीको ज्यानै लिने षड्यन्त्र बनाउँदै गरेको रहस्य बाहिर आएको उनको दाबी थियो । उनले षड्यन्त्रमा सहभागी हुनेहरुको खोजी गर्ने समेत बताए ।