एजेन्सी । १२ वर्षसम्म इजरेलको सत्ता सम्हालेका बेन्जामिन नेतान्याहुले प्रधानमन्त्री पद गुमाएका छन्। इजरायली प्रधानमन्त्रीको रुपमा रहेका उनी संसदमा नयाँ गठबन्धनको सरकारको पक्षमा बहुमत आएसँगै पदबाट बाहिरिनु परेको हो ।
दक्षिणपन्थी राष्ट्रवादी नाफ्ताली बेनेटले ‘परिवर्तनको सरकार’ को नेतृत्व गर्दै शपथ ग्रहण गरेका छन्। संसदमा नेतान्याहुको पक्षमा ५९ सांसदको समर्थन मिल्यो भने विपक्षी गठबन्धनका उम्मेदवार बेनेटलाई ६० सांसदले मत दिएका थिए । सत्ता समीकरणसम्बन्धी सम्झौताका अनुसार बेनेट सन् २०२३ को सेप्टेम्बर महिनासम्म प्रधानमन्त्री रहने छन्।
बीबीसीमा उल्लेख भए अनुसार नेतान्याहू सबैभन्दा लामो समय इजरायलको प्रधानमन्त्री बन्ने व्यक्ति बनेका छन् । उनी पाँच पटक इजरायलको प्रधानमन्त्री निर्वाचित भएका हुन् । पहिलो पटक उनी १९९६ सालदेखि १९९९ सम्म प्रधानमन्त्री रहे भने त्यसपछि २००९ देखि अहिलेसम्म निरन्तर प्रधानमन्त्री बनेका थिए ।
इजरेलको राजनीतिमा वर्षौंसम्म वर्चस्व कायम राखेका उनी दक्षिणपन्थी लिकुड पार्टीको प्रमुख तथा विपक्षी दलको नेता रहने छन्।