काठमाडौं । बाँकेका किसानहरु पहिलो पटक चैते धान उत्पादन गर्न सफल भएका छन् । बर्खे धानभन्दा चैते धान उत्पादनमा दोब्बर बृद्धि भएको किसानहरुले अनुमान गरेका छन् । उत्पादन देखेर गाँउका अन्य किसानहरु पनि अकार्षित भएका छन् ।
पश्चिम तराईको बाँके र बर्दिया जिल्लालाई अन्नको भण्डार भनेर आम मानिसहरुले चिनिने गरेका छन् । बर्दियाका किसानहरु १ दशक अघि देखि चैते धानतर्फ अकार्षित भएपनि उत्पादन लिन सकिरहेका थिएनन् ।यो वर्ष भने बाँकेका किसानहरुले चैते धान फलाउन सफल भएका छन् । राष्ट्रिय गौरवको अयोजनाले नहरमा पानी आउन थाले चैते धान लगाउन किसान उत्साही भएका थिए ।
नहरमा १२ महिना पानी आउन थाले पछि किसानहरुलाई कृषि ज्ञान केन्द्र बाँकेले मल र धानको बिउ उपलब्ध गराएको थियो । चैते धान फलाउन सफल बैजानाथ गाँउपालिका ८ झिंगौराका किसान अजित कुमार सुनारले यो वर्षको परिक्षण सफल भएले अर्को बर्षदेखि थप जमिनमा धान रोप्ने सोच बनाएको बताए ।
यस्तै कोहलपुर नगरपालिका १५ चौधरिया गाँउका किसान ज्ञान बहादुर नेपालले पनि ११ कट्ठा जमिनमा चैते धान फलाउन सफल भएका छन् । किसान नेपालले असार पहिलो सातासम्म चैते धान थन्काएर बर्षे धान लगाउने तयारी गरेको बताए ।
परीक्षणको रुपमा हल्दीनाथ-३ र चैते धान-५ नामक धानको खेती गर्नुभएको छ । लामो समयदेखि कृषि पेशामा आबद्ध नेपालले सिक्टा सिँचाईको नहर घर नजिकै पुगेपछि अन्य किसानलाई पनि सिकाई हुने भन्दै चैते धानको खेती गरेको बताए ।
एक वर्षमै सुरुमा बर्षेधान, त्यसपछि हिउँदमा मसुरो हुँदै चैतमा चैते धान खेती गरेको नेपालले बताए । घर नजिकैको शाखा नहरमा सिक्टा सिँचाइको पानी आउन थालेपछि अन्य खेतीपाती पनि राम्रो हुन थालेको नेपालले बताए ।
उनले धानको खेती गर्ने जानकारी गराएपछि सिक्टा सिँचाइ आयोजनाबाट प्राप्त हौसला र सहयोगले आफूलाई थप प्रोत्साहन मिलेको बताए । कृषि ज्ञान केन्द्र बाँकेले किसान अजित सुनारलाई प्रोत्साहन गर्न यो बर्ष चैते १ जातको धान उपलब्ध गराएको थियो ।
धान लगाउनका लागि ज्ञान केन्द्रले किसानलाई निशुल्क परामर्श र मल, बिउ समेत उपलब्ध गराएको कृषि ज्ञान केन्द्र बाँकेका अधिकृत दिनेश भट्टराईले बताए । उनले भने , ‘अर्को बर्ष थप किसानहरुलाई चैते धान रोपाईको कार्यक्रम ल्याउँछौ ।’
किसानहरुले गर्मी हुने ठाँउमा चैते धान फलाएर अन्य किसानहरुलाई उत्पादनमा जोडिन हौसला दिएका छन् । बाँकेमा चैते धान फल्ने खेतमा गँहु, मकै र तरकारीको खेती गर्ने चलन छ । सिक्टा सिंचाई आयोजनाको सिंचित हुने क्षेत्रमा धान उतपादन गरेर किसानहरुलाई बैकल्पिक उत्पादनको बाटो देखाएको छ ।
आगामी वर्षमा किसानहरुलाई ज्ञान केन्द्रले चैते धान खेती गर्न चाहने किसानहरुलाई निःशुल्क मल र धानको बिउ उपलब्ध गराए चैते धान लगाउने किसानहरुलाई थप हौसला पुग्ने छ ।