काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव पक्ष निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भएको छ । यादवले आज त्यसका लागि कानुन व्यवसायीसँग छलफल गर्न तयारी गरेका छन् ।
जसपाको निर्णय विपरित कार्य गरेको तथा पार्टीका अनुशासन उल्लघंन गरेको भन्दै यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्काशन गरेको थियो ।
त्यस्तै अध्यक्ष महन्थ ठाकुरले पनि यादव लगायतलाई पार्टीबाट निष्काशन गरेका थिए । दुवैजनाले एक अर्कालाई यसरी कारवाही गरेको निर्वाचन आयोगमा जानकारी गराउँदै पार्टी आधिरकारिकताको लागि आग्रह गरेका थिए । तर निर्वाचन आयोगले दुवैजना अध्यक्षले एक अर्कालाई कारवाही गर्न नसक्ने भन्दै हाल रहेको पदाधिकारी नै कायम रहने निर्णय सुनाएको थियो ।
सोही निर्णय आपत्तिजनक भएको भन्दै अदालत जाने तयारी गरेको यादव पक्षका कार्यकारिणी सदस्य महेन्द्र राय यादवले बताएका हुन् ।