काठमाडौं। सातै प्रदेश सरकारले मंगलबार आर्थिक वर्ष २०७८/७९ का लागि बजेट सार्वजनिक गरेका छन्।
असार १ गते नयाँ बजेट सार्वजनिक गर्नैपर्ने संवैधानिक व्यवस्थाका कारण मंगलबार सातै प्रदेश सरकारले बजेट सार्वजनिक गरेका हुन्।
प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपौयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङबुहाङले चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख र पूँजीगतर्फ १५ अर्ब ५ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको बताए।
यस्तै प्रदेश २ मा ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले चालूतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वित्तीय व्यवस्थातर्फ १० करोड रुपैयाँ बजेट विनियोजना गरेको जानकारी दिए।
यसैगरी बागमती प्रदेशले ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख र पुँजीगततर्फ २९ अर्ब ७० करोड ३९ लाख रुपैयाँ विनियोजन गरेको बताए।
गण्डकी प्रदेश सरकारले ३० अर्ब ३ करोड रुपैयाँको बजेट ल्याएको छ। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ १३ अर्ब ६ करोड ४७ लाख रुपैयाँ र पुँजीगतर्फ १६ अर्ब ७३ करोड ४६ लाख रुपैयाँ विनियोजन भएको छ।
यसैगरी लुम्बिनी प्रदेशले झण्डै ४१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैयाँ विनियोजन गरिएको बताए।
कर्णाली प्रदेश सरकारले ३६ अर्ब बढीको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले प्रदेशसभा बैठकमा ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्।
यस्तै सुदूरपश्चिम प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले चालुतर्फ १० अर्ब ६६ करोड र पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख बजेट विनियोजन गरेको बताए।