काठमाडौं । पुर्वप्रधानमन्त्री एंव एमाले वरिष्ठ नेता झलनाथ खनालले उपचारको लागि दिल्ली जानुअघि संकटको समाधानमा एकजुट हुन आग्रह गरेका छन् ।
उपचारको लागि दिल्ली उड्नुअघि विज्ञप्ती जारी गरेर उनले संकटको समाधानमा एकजुट हुन आग्रह गरेका हुन् । उनले अहिलेको देशको अवस्थाले आफूलाई अत्यन्तै चिन्तित बनाएको भन्दै सबै मिले ठूला ठूला सफलता प्राप्त हुनेमा जोड दिए ।
‘यो अवस्थाले मलाई अत्यन्तै चिन्तित बनाएको छ’, उनले विज्ञप्तीमा भने, ’विगतमा हामी सबै मिलेर ठूलाठूला सफलताहरु प्राप्त गरेको स्मरण गरौं ।‘
स्वास्थ्य लाभको कामना गर्नेलाई धन्यवाद दिँदै खनालले आफू छिट्टै स्वदेश फर्कने बताएका छन् ।
स्वास्थ्यमा समस्या आएपछि जेठ ३१ गते थापाथलीस्थित नर्भिक इन्टरनेश्नल अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारको लागि दिल्लीको एपोलो अस्पताल लगिएको हो।
उपचारमा संलग्न चिकित्सकका अनुसार खनालको फोक्सोमा पानी जमेको छ। उनलाई श्वासप्रश्वासमा समस्या भएकाले अक्जिनको सहायतामा दिल्ली लगिएको छ।
यसअघि कोरोना संक्रमण भएपछि उनलाई वैशाख १८ गते नर्भिकमै भर्ना गरिएको थियो। वैशाख २६ मा कोरोना रिपोर्ट नेगेटिभ आएर स्वास्थ्यमा सुधार हुँदै गएपछि उनलाई २८ गते डिस्चार्ज गरिएको थियो।
मिर्गौलाको समस्याले पीडित खनाल चिकित्सकको सुझाव अनुसार दिल्ली लगिएको हो।