काठमाडौं : सरकारले असार २५ गतेभित्र कर तिर्न निर्देशन दिएको छ। आन्तरिक राजस्व विभागले बुधबार सूचना निकालेर असार २५ भित्र सबै प्रकारको कर विवरण तथा कर दाखिला गर्न निर्देशन दिएको हो।
विभागले मूल्य अभिवृद्धि कर, आयकर, अन्तशुल्क, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर असार २५ सम्ममा तिर्न भनेको हो। कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणको लागि भएको निषेधाज्ञाका कारण करदातालाई तोकिएको समयमा कर विवरण र दाखिला गर्न करदातालाई कठिन भएकाले म्याद थप गरिएको सूचनामा उल्लेख छ।
‘कोभिड १९ संक्रमणको रोकथाम र नियन्त्रणको सिलसिलामा विभिन्न जिल्लामा जारी भएको निषेधाज्ञाका कारण तोकिएको समयमा बुझाउनुपर्ने कर विवरण र कर दाखिला गर्न करदातालाई पर्न गएको कठिनाईलाई दृष्टिगत गरी आर्थिक ऐन, २०७७ को दफा १९ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालयको मिति २०७८/३/२ निर्णयानुसार कर विवरण तथा कर दाखिला गर्ने म्याद थप गरिएको जानकारीको लागि सूचना प्रकाशित गरिएको छ’,सूचनामा भनिएको छ।
सर्वोच्च अदालतले मंगलबार सरकारले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम सूचना जारी गरेर कर तिर्ने समय तोक्न सक्ने आदेश दिएको थियो।