काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी भएका ९ जना मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको पार्टीको कार्यकारिणी समिति बैठकले पार्टीको निर्णय विपरीत सरकारमा सहभागी भएका नौ जनालाई निष्कासन गर्ने निर्णय गरेको हो ।
यादव समूहको कार्यकारिणी समिति बैठकले प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा मन्त्री बनेका राजकिशोर यादव, अनिलकुमार झा, शरदसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अरगरिया, एकबाल मियाँ, विमल श्रीवास्तव र राज्यमन्त्री बनेका चन्द्रकान्त चौधरी र रेणुका गुरूङलाई पार्टीबाट निष्कासन गर्ने निर्णय भएको हो ।
उनीहरुलाई यसअघि पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा स्पष्टीकरण सोधिएको थियो ।
यस्तै बैठकले अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्ष पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगमा पुनः निवेदन दिने निर्णय गरेको छ । यो समूहले लुम्बिनी प्रदेशका चार सांसदलाई फेरि स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको एक नेताले जानकारी दिए ।
यसैगरी बैठकले चुरे दोहन गर्न नहुने निष्कर्ष निकाल्दै चुरे दोहन रोक्न लागि पर्ने निर्णय गरेको छ । बाढ़ी पहिरो पीड़ितको उद्धार र राहतका लागि सरकारसँग आग्रह गर्दै उद्धारका लागि खट्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिएको छ ।