काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव समूह पार्टीको वैधानिकता दाबीसहित निर्वाचन आयोग पुगेको छ ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार आफूहरु नै जसपाको आधिकारिक भएको दाबीसहित यादव समूह आयोग पुगेको हो । आयोगमा यादव समूहले दाबीसहितको पत्र बुझाएको छ ।
बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले वैधानिकता दाबी गर्ने निर्णय गरेको थियो ।
कार्यकारिणी समितिमा बहुमत जुटाएको यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई कारबाही गरेको थियो । तर निर्वाचन आयोगले त्यसलाई मान्यता दिन अस्वीकार गरेपछि यादव पक्ष आयोग पुगेको हो ।
पार्टीको बिहीबारको बैठकले प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा मन्त्री बनेका राजकिशोर यादव, अनिलकुमार झा, शरदसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अरगरिया, एकबाल मियाँ, विमल श्रीवास्तव र राज्यमन्त्री बनेका चन्द्रकान्त चौधरी र रेणुका गुरूङलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।