काठमाडौं। नेपाली कांग्रेसले १४ औँ महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको हो।
कांग्रेसले साउन १२ गते गाउँ तथा नगरको वडाको अधिवेशन, साउन १६ गते गाउँपालिका/नगरपालिकाको अधिवेशन, साउन २० गते क्षेत्रिय अधिवेशन र एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २३ गते तथा एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २६ गते गर्ने निर्णय गरेको छ।
त्यस्तै प्रदेश अधिवेशन भदौ १ र २ गर्ने निर्णय भएको नेपाली कांग्रेसका नेता प्रकाश शरण महतले जानकारी दिए।
नेपाली कांग्रेसले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा सहभागी हुन चाहाने व्यक्ति र राजनीतिक दललाई समेटेर एकताबद्ध रुपमा अगाडी बढ्ने निर्णय पनि गरेको छ।
उनले भने, ‘हामी चाहान्छौँ लोकतन्त्रको रक्षा होस्। संविधानको रक्षा होस्। र त्यसमा जो पार्टीहरु व्यक्तिहरु जोडिन चाहानुुहुन्छ, उहाँहरुलाई जोड्टै यसलाई अझ मजबुतिका साथ अगाडी बढाउने र संविधान, लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्ने र वर्तमान ओली सरकारले जसरी लोकतन्त्र, संविधानको मुल्य र मान्यतालाई एकपछि अर्को गरेर कमजोर गर्ने काम भएको छ त्यसको विरुद्ध बृहत्तर एकता जो लोकतन्त्रमा विश्वास गर्छ र संविधानमा विश्वास गर्छ ति पार्टीहरु र समुहहरुलाई जोड्दै लाने, एकताबद्ध बनाएर लाने निर्णय आजको पार्टीको बैठकले गरेको छ।’
कोरोना कहरको बेलामा महाधिवेशन कसरी सम्पन्न गर्ने भन्ने बारेमा छलफल भइरहेको पनि उनले जानकारी दिए।