हुम्ला । चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी हिल्सा क्षेत्रमा पहिरो जाँदा खानेपानीको पाइपलाइन बगाएको छ । हिल्साको नौमूलेमा रहेको मुहानमा माथिबाट आएको पहिराले पाइप लाइन बगाएपछि ९० घरधुरीलाई खानेपानीको समस्या भएको छ ।
शुक्रबार बेलुका खानेपानीको मुहान रहेको नौमूलेमा माथिबाट आएको पहिराले सबै पाइप लाइन बगाएको हिल्साका होटेल व्यवसायी कर्मा लामाले बताए ।
बस्ती तलको कर्णाली नदीको पानी पहिरोले धमिलो भएका कारण पिउन योग्य नभएपछि खानेपानीको समस्या भएको हो ।
पहिरोले खानेपानीका पाइप लाइनका साथै बीस मिटरभन्दा बढी कर्णाली करिडोरको हिल्साको सडक पनि भत्काएको छ । धेरै लेदो भएकाले तत्काल त्यसलाई मर्मत गर्न सकिने अवस्था नरहेको सुरक्षा चौकीले जनाएको छ ।