कञ्चनपुर । महाकाली नदीको बाढीमा फसेका तीन जनाको उद्धार गरिएको छ । भीमदत्त नगरपालिका-१० नजिकको भारतीय वनमा भैंसी चराएर फर्कने क्रममा नदीको बीचमा फसेका तीन जनाको उद्धार गरिएको हो ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बिओपी) गड्डाचौकी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) सलानी गोठको समन्वयमा २० वर्षिय राम टमटा, २४ वर्षिय राजेश टमटा र २८ वर्षिया का प्रमा तिरुवाको उद्धार गरिएको सशस्त्र प्रहरी बल शैलेश्वरीका उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए ।
यसैबीच महाकालीमा पानीको बहाव बढ्दै गएपछि भीमदत्त नगरपालिका १२ का १५ घर डुवानमा परेका छन । नदीमा बाँधिएको बाँधले भुजेला खोला थुनिएर गाउँमा पानी पस्दा १५ घर डुवानमा परेका हुन् ।
खोलाको पानी निकासको कुरालाई ख्याल नगरी बाँध निर्माण गर्दा डुवान भएको स्थानीयको भनाइ छ ।
बाढीले निर्माणाधीन पुल नजिकको बाँधमा समेत कटान शुरु गरेको छ । तारजालीमा ढुङ्गा भरेर रोक्ने प्रयास भइरहेको पिके निर्माण कम्पनीका इन्जिनियर किशोर पाण्डेले बताए । भीमदत्त-१३ का वडाध्यक्ष लालबहादुर शाहीले सडक भत्किएपछि आवातजावत बन्द गरिएको जानकारी दिए ।
महाकालीमा पानीको बहाव बढेपछि नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।