काठमाडौं । काठमाडौँ उपत्यकामा अझै एक हप्ता निषेधाज्ञा थपिएको छ ।
काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले कोभिड संक्रमण उल्लेखनीय रुपमा नघटेको निष्कर्ष निकाल्दै थप एक हप्ता निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । तर अबको निषेधाज्ञा केही खुकुलो भने हुनेछ ।
अब निजी सवारी साधन भने जोर बिजोर नम्बरका आधारमा गुड्न पाउनेछन् । यस्तै बार अनुसार बिहान ११ देखि ४ बजेसम्म विभिन्न पसल खोल्न पाइनेछ । आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा पसल, मोबाइल पसल तथा सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्ट स्टोर, फेन्सीका पसलहरु खुल्नेछन् ।
खाद्यन्न पसल भने हरेक दिन बिहान ११ बजेसम्म खोल्न पाइने छ । निर्माण सामग्रीका पसलहरु पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ ।