काठमाडौं । सुनचाँदीको पसल ५४ दिनपछि खुलेका छन् । गत बैशाख १६ गतेदेखि कोरोना भाइरसको संक्रमण थप फैलन नदिन भन्दै सरकारले निषेधाज्ञा जारी गरेपछि बन्द रहेका सुनचाँदीका पसल मंगलबारदेखि खुलेका हुन् ।
पसल खुलेको पहिलो दिन मंगलबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ । मंगलबार ६ सय रुपैयाँ बढेर सुन तोलाको ९१ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलामा ४ सय रुपैयाँ बढेर सुन तोलाको ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । तोलामा ५ रुपैयाँ बढेर चाँदी तोलाको १३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गएको हप्ता लगातार ओरालो लागेको सुनको मूल्य सोमबार र मंगलबार उकालो लागेको हो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले नेपालमा पनि प्रभाव परेको महासंघले जनाएको छ ।