logo

२०८१ पुष १२ शुक्रबार

logo
  • शुक्रबार, १२ पुष २०८१
  • जाजरकोटमा नौ हजार क्विन्टल चामल माग

    जाजरकोटमा नौ हजार क्विन्टल चामल माग

    1.9K
    Shares

    जाजरकोट : वर्षायाममा सडक अवरुद्ध हुन सक्ने भन्दै बारेकोट गाउँपालिकाले नौ हजार क्विन्टल चामल माग गरेको छ । बारेकोटभित्रकै खाद्य उत्पादनले १२ महिना नपुग्ने हुँदा खाद्यान्न आयात गर्नुपर्ने बाध्यता रहेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । 

    गाउँपालिकाले घाटस्थित डिपोमा पाँच हजार क्विन्टल र काउली डिपोमा चार हजार क्विन्टल सहुलियतको चामल उपलब्ध गराउन खाद्य व्यवस्था तथा व्यापार कम्पनी जाजरकोटलाई आग्रह गरिएको अध्यक्ष शाहले जानकारी दिए । 

    बारेकोटमा अघिल्लो वर्ष गएको बाढी र पहिरोले निकै क्षति भएपछि सर्वसाधारण समस्यामा पर्दै आएका छन् । खेतीयोग्य जमिनमा क्षति हुँदा यो वर्ष उत्पादनमा गिरावट आएको थियो । 

    बारेकोट–४ का ७३ घरधुरी यो वर्षामा पनि अघिल्लो वर्ष वितरण गरिएका पाल टाँगेर सुरक्षित ठाउँमा बसिरहेका छन् । मकै लगाएको खेतबारीमा बाढीपहिरोले भारी क्षति गर्दा खाद्यान्न सङ्कट परेको बारेकोट–५ का जनकबहादुर शाहीले बताए । 

    कच्ची कटान र कमजोर माटोको कारण बारेकोटको सडक सजिलै अवरुद्ध हुने गर्दछ । सडक अवरुद्ध हुनुअगावै बारेकोटमा खाद्यान्न ढुवानी कार्य पूरा गर्न गाउँपालिकाले आग्रह गरेको हो । त्यस्तै अघिल्लो वर्ष छियाछिया भएको जमिन यो पटकको वर्षामा पनि जोखिम कायम रहेकाले सर्वसाधारणलाई सुरक्षित ठाउँमा बस्न गाउँपालिकाले आग्रह गरेको छ । 

    बाढी पहिरोबाट हुनसक्ने क्षतिको उद्धारका लागि गाउँपालिकाले वीरेन्द्र हिमालय माध्यमिक विद्यालय लिम्सामा अस्थायी ब्यारेक निर्माण गरी २० जना सशस्त्र प्रहरी बलको उद्धार टोलीलाई राख्न पहल शुरु गरेको बताएको छ । 

    जनताको जिउधनको सुरक्षाका साथै उद्धार तथा राहत वितरणमा सहजता ल्याउन अस्थायी ब्यारेक बनाई उच्च सतर्कताका साथ काम भइरहेको गाउँपालिकाले जनाएको छ । जिल्लाको दुर्गम गाउँपालिकामध्ये बारेकोट पनि एक हो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend