स्पेन युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ ले हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो ।
सेन्ट पिटर्सवर्ग स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयमा १-१ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा स्पेन विजयी भएको हो । स्पेनका लागि डानिल ओल्मो, जेरार्ड मोरेनो र मिकेल ओयार्जबलले गोल गरे ।
स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिचले एक गोल गरे । यसअघि खेलको आठौं मिनेटमा स्विट्जरल्यान्डका डेनिस जाकारियाले आत्मघाती गोल गरेपछि स्पेन १ शून्यले अघि थियो । ।
तर, खेलको ६८ औं मिनेटमा कप्तान जद्रान शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ७८ औं मिनेटमा फ्रिउलर रातो कार्ड पाउदै मैदानबाट बाहिरिएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा समेटियो ।
प्रि-क्वाटरफाइनलमा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५-३ गोल अन्तरले हराएर अन्तिम आठको यात्रा तय गरेको थियो । स्विट्जरल्यान्डले साविक उपविजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराएर स्पेनसँगको भेट पक्का गरेको थियो ।