काठमाडौं । स्पेनलाई पराजित गर्दै इटली १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
इंग्ल्यान्डमा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४(२ गोल अन्तरले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । पेनाल्टीमा इटालीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे । म्यानुएल लोकाटेलीले भने गोल गर्न सकेनन् ।
स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे । तर, डानिल ओल्मो र अल्भारो मोराटाले गोल गर्न सकेनन् ।
यस जितसँगै इटाली ३३ खेलमा अपराजित रहन सफल भएको छ ।
स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गरेको थियो ।
इटलीले अब उपाधिका लागि इंग्ल्याण्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ ।