काठमाडाैं । वर्तमान सरकारको असामयिक बहिर्गमनसँग सिंहदरबारबाट मन्त्रीहरुको बिदाइ गरिएको छ ।
सिंहदरबारमा मंगलबार अपरान्ह अर्थमन्त्री विष्णुप्रसाद पौडेलको बिदाइ भएको छ । अर्थ मन्त्रालयमा दोस्रो पटक मन्त्रीको रुपमा आएका मन्त्री पौडेलले आफ्नो कार्यकाल सफल भएको बताएका छन् । आफूले निष्ठापूर्वक काम गरेकोले सन्तुष्ट हुँदै बिदा भएको बताए ।
कार्यभार सम्हाल्ने समयमा चुनौतीको चाङ रहेको स्मरण गरी मन्त्री पौडेलले कर्मचारीको सहयोगले सहजताका साथ काम गरेको बताए ।
अर्थमन्त्री पौडेलले सरकारमा आउने जाने काम निरन्तर हुने हुँदा अनौठो मान्न नहुने बताए ।
यस्तै, सिंहदरबारबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङको पनि बिदाइ गरिएको छ ।
भौतिक मन्त्री नेम्वाङले आफूले चाहेजस्तो गरी कर्मचारीहरुको सहयोग पाएका कारण राष्ट्र र जनताप्रतिको दायित्व पूरा गर्न सकेको बताए । कर्मचारीहरुका साथका कारण आफूले मन्त्रालयको शाख गिर्न नदिएको उनले बताए ।
उनले ओली नेतृत्वको सरकारले विकास निर्माणको कामलाई तीव्रता दिएको पनि उल्लेख गरे ।