काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् ।
बिहीबार दिउँसो २ बजेका लागि बैठक बाेलाइएकाे पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा महाधिवेशनको तयारी, मन्त्रिमण्डल गठन र सरकारका काम कारवाहीबारे छलफल हुने बताइएकाे छ ।
कांग्रेस सभापति देउवा मंगलबार प्रधानमन्त्री नियुक्त भएका हुन् । देउवाले पहिलो चरणमा चार जना मन्त्री नियुक्त गरेका छन् । कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँण र कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् ।
कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्री चयनका बारेमा पदाधिकारी बैठकमा छलफल हुने बताइएको छ । भदौ दोस्रो साताका लागि तोकिएको कांग्रेस महाधिवेशनको तयारीका बारेमा पनि बैठकमा छलफल हुनेछ । यद्यपी बैठकस्थल भने तय भएकाे छैन ।