काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दैछ ।
स्थायी कमिटी बैठक विहान ११ बजे ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा डाकिएको छ भने दिउँसो तीन बजे संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्ने भएको छ ।
आजको स्थायी कमिटी बैठकमा १० बुँदे सहमति पेश गर्ने तयारी रहेको कार्यदलका सदस्य सुवास नेम्वाङले बताए । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बैठकमा माधव नेपाल पक्षका नेताहरुलाई पनि बोलाइएको जानकारी दिए । यद्यपि नेपाल पक्षका नेताहरु बैठकमा जाने कि नजाने भन्ने निश्चित भइसकेको छैन ।
एमाले विवाद समाधानका लागि गठित कार्यदलले १० बुँदै सहमति गरेपनि यसको कार्यन्वयनमा भने जटिलता देखिएको छ । सत्ताच्यत भएपछि एमाले अध्यक्ष ओलीले नेता माधव नेपाललाई गद्दार भन्दै एमालेमा ठाउँ नभएको बताएका थिए । सो अभिव्यक्तिपछि एमालेमा झन् कटुता बढेको छ ।