काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता सम्बन्धी विवादमा निर्णय गर्न निर्वाचन आयोगले गठन गरेको इजलास आज बस्दै छ ।
बिहान ११ बजे बस्ने इजलासमा पक्ष विपक्षको बहस सकिएपछि आयोगले आधिकारिकता सम्बन्धी विवादमा निर्णय गर्ने छ ।
जसपाको आधिकारिकता सम्बन्धी विवाद मिलाउन असार २३ गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा गठित पाँच सदस्यीय इजलास गठन गरिएको थियो। यो इजलासले जसपाको नाम र निर्वाचन चिह्न कुन पक्षले पाउने भन्ने निर्णय लिने छ ।
जसपाको उपेन्द्र-बाबुराम र महन्थ-राजेन्द्र पक्ष दुवैले आफूहरु आधिकारिक भएको दाबी गर्दै आएका छन् । उपेन्द्र-बाबुराम पक्ष विपक्षी गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ ।
महन्थ-राजेन्द्र पक्षले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिंदै सरकारमा सहभागी भएको थियो ।