काठमाडौं । नेकपा (एमाले) नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने स्पष्ट पारेकी छन् । फेसबुकमा उनले प्रधानमन्त्री देउवालाई विश्वासको मत हाल्नु आफ्नो कर्तव्य भएको बताएकी हुन् ।
‘हामीले ७६ (५) को प्रमको लागि संघीय संसदका माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ। १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौँ। अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो’, उनले थप भनिन्, ‘सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ। त्यसो गर्न सकिदैन भने सांसदहरूलाई संसदको पुरा कार्यकाल संचालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं। यदि त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं।’
प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिन तयारी गरेपछि झाँक्रीकाे याे भनाइ आएकाे हाे ।
दुई चरणमा बस्ने प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानबमोजिम विश्वासको मत लिन लाग्नुभएकाे हाे।
संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले एक महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ। सर्वोच्च अदालतको परामदेशपछि नेपाली कांग्रेसका सभापति देउवा असार २९ गते प्रधानमन्त्री बन्नुभएकाे थियाे ।
उहाँले विश्वासको मत पाउन प्रस्तावका पक्षमा १३६ मत आवश्यक पर्छ। देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने भन्दै एमाले माधव नेपाल पक्षका सांसदहरूले हस्ताक्षर गर्नुभएकाे थियाे । सोही कारण पनि देउवालाई विश्वासको मत दिने पक्षमा नेपाल समूहका सांसदहरु रहेका छन् ।