काठमाडौं । सरकारले दिल्लीमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचारको लागि ३० लाख रुपैयाँ निकासा गरेको छ।
मन्त्रिपरिषदको निर्णयअनुसार अर्थ मन्त्रालयले उपचार खर्च वापतको ३० लाख रुपैयाँ निकासा गरेको जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बचन दिएको भोलीपल्ट नै दिल्लीमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री खनाललाई ३० लाख रुपैंया उपचार खर्च पठाइएको हो ।
दिल्लीको एपोलो अस्पतालमा उपचाररत खनालको उपचार खर्च व्यहोर्ने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदले निर्णय गरेको थियो। सरकार परिवर्तनपछि प्रधानमन्त्री देउवाले पनि फोन गरेर उनलाई उपचार खर्च सरकारले व्यहोर्ने भन्दै ढुक्कसँग उपचार गर्न भनेका थिए।
सरकारकाे याे निर्णयकाे विराेध गर्दै पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गगन थापाले २०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नुपर्दा लाग्ने खर्च सरकारबाट उपलब्ध गराइने छैन भन्ने व्यवस्था २०७५ असोज २ गतेदेखि लागु भइसकेको भन्दै नेता खनालको उपचार खर्च नबेहोर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
उनले पूर्व प्रधानमन्त्री खनालको उपचारको लागि परिवार, स्वजन, पार्टी पङ्क्ति लागिरहेको भन्दै उपचार खर्च जुटाउनु पर्ने अवस्था आए सबै नेपाली मिलेर अघि बढ्ने पनि बताएका थिए ।
तर अर्थ मन्त्रालयले भने मन्त्रिपरिषद्काे निर्णय भन्दै बिहीबार रकम निकासा गरेकाे जनाएकाे छ ।
पूर्वप्रधानमन्त्री एंव एमाले वरिष्ठ नेता खनालको असार २ गतेदेखि भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार भइराखेको छ । स्वास्थ्यमा समस्या आएपछि जेठ ३१ गते थापाथलीस्थित नर्भिक इन्टरनेश्नल अस्पताल भर्ना गरिएका खनालको फोक्सोमा पानी जमेकाले चिकित्सकको सल्लाह अनुसार थप उपचारको लागि भारत लगिएको हो ।