काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को पछिल्ला कामकारबाहीबाट असन्तुष्ट बन्दै आएका उपाध्यक्ष कृष्ण थापाले प्राविधिक कमिटीको संयोजकबाट राजीनामा दिएका छन् ।
आफू एन्फाको प्राविधिक कमिटिको संयोजक भए पनि कुनै जानिकारी नदिइ एन्फामा काम भइरहेको थापाको आरोप छ । थापाले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई सम्बोधन गरेर राजीनामा पत्र बुझाएका हुन् ।
‘एन्फा केन्द्रिय कार्यकारीणी समितिको बैठकले आफुलाई टेक्निकल कमिटिको संयोजकको जिम्मेवारी दिइए पनि कुनै जानकारी नदिएर राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको करार थप्ने, एन्फा एकेडेमीमा यू–१३ खेलाडी राख्ने, महिला टोलीको सहायक प्रशिक्षक राख्ने, बी लाइसेन्स कोर्षको आयोजना गर्नेलगायतका काम गरेको छ,’ थापाले विज्ञप्तीमा भनेका छन् ।
उनले एन्फाले हरेक काम विधि र विधानविपरित गर्दै आएकोले टेक्निकल कमिटीमा बसिरहन आफूलाई नैतिकताले नदिएको उल्लेख गरेका छन् । थापाले सुक्रबारबाटै लागु हुने गरी राजीनामा दिएको समेत बताएका छन् ।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान समेत रहेका थापा खेलाडी जीवनपछि लामो समय राष्ट्रिय खेलकुद परिाषद् (राखेप) अन्तर्गत फुटबल प्रशिक्षक थिए । राष्ट्रिय टोलीको पूर्व प्रशिक्षक समेत रहेका थापा ‘चेन्ज एन्फा’ अभियानका सदस्य पनि हुन् । थापा यसअघि भएको एन्फा निर्वाचनमा कर्माछिरिङ शेर्पा प्यानलबाट उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
एक समय तत्कालीन एन्फा अध्यक्ष गणेश थापाका कट्टर विरोधी देखिएका कृष्ण थापा अहिले फेरि गणेश थापासँग नजिकिएका छन् । एन्फामा २० वर्ष राज गरेका गणेश थापालाई भने अहिले विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले १० वर्ष प्रतिबन्धको कारबाही गरेको छ । फुटबलमा गणेश थापाको प्रतिबन्ध अझै चार वर्ष बाँकी छ ।