एजेन्सी । डिप्रेसन र मेन्टल हेल्थका कारण दुई महिनादेखि मैदान बाहिर रहेकी जापानी टेनिस सुन्दरी नाओमी ओसाका ओलम्पिक गेम्ससँगै कोर्टमा फर्कने भएकी छन् । आफ्नै भूमिमा आयोजित ओलम्पिकबाट सर्मथकलाई खुशी दिन चाहेको ओसाकाले बताएकी छन् ।
ओसाकाले गत मे महिना यता कुनै पनि प्रतियोगिता खेलेकी छैनन् । उनले फ्रेन्च ओपन टेनिसको बीचमै छाडेकी थिइन् । चार पटकको ग्रान्डस्लाम विजेता ओसाकाले डिप्रेसन, मेन्टल हेल्थ’ लगायत समस्याका कारण देखाउँदै फ्रेन्च ओपन टेनिसको दोस्रो चरणबाटै नाम फिर्ता लिएकी थिइन् । उनले फ्रेन्च ओपनका क्रममा आफूलाई केही समयको विश्राम आवश्यक परेको बताएकी थिइन् ।
पछिल्लो समय ओलम्पिकलाई विशेष प्राथकिमतामा राखेर तयारी गरिरहेकी ओसाकालाई महिला एकलतर्फ स्वर्ण विजेता दावेदारको रुपमा हेरिएको छ । ‘हार्ड कोर्ट’मा खेलाइने ओलम्पिकमा महिला टेनिसतर्फ ६४ खेलाडीको सहभागिता रहनेछ ।
ओलम्पिकमा सहभागीमध्ये धेरै स्टार खेलाडीको नाम नरहेकोले पनि ओसाका प्रवल दोवेदार हुन् । सेरेना विलियम्स, भिक्टोरिया आजारेन्का, एन्जेलिक केरबर, सिमोन हालेप जस्ता खेलाडी नहुँदा विश्व नम्बर दुई वरियताकी ओसाकालाई राम्रो मौका रहने छ । २३ वर्षीया ओसाकालाई घरेलु कोर्टमा जापानी समर्थकको साथले समेत थप बल पु¥याउने विश्वास गरिएको छ ।