काठमाडौं । टोकियो ओलम्पिकमा नेपालकी सुटिङ खेलाडी कल्पना परियारले १० मिटर एयर राइफल स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।
आसाका सुटिङ रेन्जमा शनिबार बिहान भएको छनोट राउन्डमा कल्पनाले ६ सय १६.८ स्कोरको राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् ।
यसअघिको कीर्तिमान पनि उनकै नाममा थियो । कल्पनाले गतबर्ष नेपालका भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ६ सय १४.५ स्कोरसाथ कीर्तिमान आफ्नो नाममा लेखाएकी थिइन् । सागमा उनी चौथो भएकी थिइन् ।
ओलम्पिकको यस स्पर्धामा कल्पनाले फाइनल राउन्डमा स्थान बनाउन भने सकिनन् । छनोट राउन्डबाट शीर्ष आठ खेलाडीले मात्र फाइनल खेल खेल्नेछन् ।
५० खेलाडी सहभागी यस स्पर्धामा कल्पना ४६औं स्थानमा रहिन् । कल्पनाले यसअघि सन् २०१८ मा भएको एसियाली खेलकुदमा ५ सय ९४.८ स्कोर गरेकी थिइन् ।