काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले औपचारिक रुपमा राजीनामा नगरेको जनाएको छ । एन्फाका प्रवक्ता किरण राइले प्रशिक्षक अब्दुल्लाहले सामाजिक सञ्जालमा राजीनामाको घोषणा गरेर स्टाटस लेखेपनि औपचारिक राजीनामा पत्र नबुझाएको बताए ।
प्रशिक्षक अब्दुल्लाहले आइतबार सामाजिक संजाल फेसबुकबाट आफूले राजीनामा दिने घोषणा गरेका थिए । उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण आफूले राजीनामा दिन लागेको उल्लेख गरेका थिए ।
सामाजिक संजालमा राजीनामा दिने घोषणा गरेपछि प्रशिक्षक अब्दुल्लाह एन्फा पुगेका थिए । उनले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग छलफल गरेका थिए ।
छलफलमा अध्यक्ष शेर्पाले साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टिमलाई असर पर्ने भन्दै उनलाई राजीनामा नदिन आग्रह गरेका थिए । शेर्पाको आग्रहपछि प्रशिक्षक अब्दुल्लाह आफू बस्ने होटल फर्किएको एन्फाले जनाएको छ ।