काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले फुटबलमा आफूलाई भिलेन बनाइएको बताएका छन्।
राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आइतबार उपाध्यक्ष नेम्वाङका कारण आफूले राजीनामा दिन लागेको भन्दै सामाजिक सञ्चालमा लेखेपछि नेम्वाङले यस्तो धारणा राखेका हुन्।
‘एन्फामा सुशासन, पारदर्शिता र सामूहिक नेतृत्वको वकालत गर्दा, एन्फालाई विधि र पद्धति अनुरुप चलाउन खोज्दा ममाथि पटकपटक हमला भएको छ’, सुनौलो नेपालसँगको कुराकानीमा नेम्वाङले भने, ‘गलत कामको विषयमा बैठकमा मैले नोट अफ डिसेन्ट लेखेँ। नराम्रो कामको विरोध सधैँ गरिहेँ। त्यसैले प्रशिक्षक अब्दुल्लाहलाई प्रयोग गरेर ममाथि अर्को षडयन्त्र रच्ने काम भयो।’
नेम्वाङले विधि र पद्धतिलाई अबलम्बन गर्न २०७५ सालको एन्फा निर्वाचनमा आफैले कर्मा छिरिङ शेर्पालाई सहयोग गरेर दुई तिहाई मतले अध्यक्षमा विजयी गराए पनि निर्वाचन पछिको एन्फाले फुटबलमा सुशासनको कुरा बिर्सिएको बताए।
नेम्बाङले अल्मुताइरीको राजीनामा घोषणाले आफू आश्चार्यमा परेको पनि बताए। ‘एन्फाको राजनीतिमा प्रशिक्षकलाई प्रयोग गरिएको छ। यो सरासर आगामी निर्वाचनका लागि रचिएको फन्डा मात्र हो। यस फन्डाले मलाई पनि चुनावप्रति झकझक्याएको छ,’ उनले भने। वैशाखमा हुने एन्फा निर्वाचनमा साथीभाइसँग छलफल गरेर अगाडि बढ्ने पनि उनले बताए।
नेम्वाङले प्रशिक्षकसँग आफ्नो र प्रशिक्षकबीच खासै कुरा नभएको पनि बताए। प्रशिक्षकले पछिल्लो समय पदाधिकारी र सञ्चारकर्मी बारे गरेको नराम्रो व्यवहारलाई सम्झाउन मैले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई सामान्य आग्रह गरेको थिएँ। तर, एक्कासी मेरो कारणले राजीनामा भन्ने कुरा आयो,’ नेम्वाङले भने।
प्रशिक्षक अब्दुल्लाहले फुटबलमा राम्रो गरिरहेको पनि नेम्वाङले बताए। ‘राम्रो प्रशिक्षण गरे पनि ममाथि लगाएको आरोपको उनले पुष्टि गर्न सक्नुपर्छ। एन्फाले छिटो छानबिन गरोस्। म दोषी ठहर भए राजीनामा दिनेछु। अब्दुल्लाहले गल्ती गरेका भए माफी माग्नुपर्छ। म फुटबल विकासका लागि उनलाई माफी दिन चाहन्छु। म सँधै सत्यको वकालत गर्ने मान्छे हुँ। खाएको विष पो लाग्छ,’ नेम्वाङले भने।
उनले यस विषयमा तत्काल सत्यतथ्य छानविन गर्न एन्फासँग माग पनि गरेका छन्। ‘आरोपको छिटो भन्दा छिटो छानविन होस्। यदि छानविन गरिएन भने म न्यायको लागि अदालत जानेछु,’ नेम्वाङले भने। उनले आफू दोषी देखिए एन्फाबाट तत्काल राजीनामा दिने पनि बताए। फुटबलमा राजनीतिक घुसाएर विकासलाई अवरोध गर्न नहुनेमा नेम्वाङको आग्रह छ।
कुराकानीको पूरा भिडियो