एजेन्सी । पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो यस्ता खेलाडी हुन् जसको उमेर ढल्किए पनि मैदानमा देखाउने खेल कौसलताले उच्च गति लिइरहेको छ ।
उमेरले ३६ वर्ष पुगेका रोनाल्डोलाई अहिले पनि विश्व फुटबलका चर्चित क्लबले पछ्याइ रहेका छन् । हरेक प्रिसिजन सुरु हुनासाथ खेलाडीको ट्रान्सफर बजारमा रोनाल्डोको चर्चा चलि नै रहन्छ । जादुमय गोल गर्ने छवि भएका रोनाल्डोले यसपटक पनि इटालियन महारथी युभेन्ट्स छाड्ने चर्चा थियो ।
युरोकप पछि केही समय पोर्चुगलमा आराम गरेका रोनाल्डो पुनः युभेन्ट्सकै प्रशिक्षणमा फर्किएका छन् । युभेन्ट्ससँग उनको नयाँ सम्झौता त भएको छैन । तर पनि रोनाल्डो युभेन्ट्समै रहने बताइएको छ । यसअघि रोनाल्डो फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) र इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड जाने चर्चा थियो ।
युरोकपमा सर्वाधिक गोल गरेका रोनाल्डोको पोर्चुगल प्रि–क्वार्टरफाइनलबाट बाहिरिएको थियो । पोर्चुगल बेल्जियमसँग १–० गोलले पराजित भएको थियो । विश्व फुटबलका सबैखाले उपाधि जितिसकेका रोनाल्डो सन् २०१८ मा स्पेनिस क्लब रियल मड्रिडबाट युभेन्टस् पुगेका थिए । ९ वर्ष रियलमा बिताएका रोनाल्डोले रियललाई क्लब फुटबलका सबै खाले उपाधि जिताएका थिए ।
युभेन्टसलाई पनि उनले दुईवटा सिरी ‘ए’ उपाधि जिताइ सकेका छन् । युभेन्टसका लागि उनले एक सय ३३ खेल खेल्दै एक सय एक गोल गरेका छन् ।